blog-big

वाग्मती-सरसफाइको-३००-औं-सप्ताह

काठमाडौँ — वाग्मती सरसफाइ अभियानले तीन सयौं सप्ताह पूरा गरेको छ । शनिबार यस अवसरमा शंखमूलमा आयोजित कार्यक्रममा सरकारका मन्त्री, सरकारी कर्मचारीका साथै नदी र सडक सरसफाइमा संलग्न अभियन्ताहरूको सहभागिता थियो ।

 

सहरी विकास मन्त्रालयले ‘स्वच्छता मेरो पहिचान, सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ तीन सयौं हप्ता मनाएको छ ।
हालसम्म वाग्मतीबाट १२ हजार मेट्रिकटनभन्दा बढी फोहोर निकालिसकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
नदी किनारमा हरियाली बढाउने उद्देश्यले दर्जनभन्दा बढी पार्क निर्माण गरिएको छ । नदी सरसफाइका लागि उपत्यकामा साढे ७ लाख स्वयंसेवी र २१ सयभन्दा बढी संघसंस्था परिचालित रहेको मन्त्रालयको तथ्यांक छ । कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नदी फोहोर हुनुमा सर्वसाधारणकै कार्यशैली दोषी रहेको बताए ।


उनले भने, ‘वाग्मती र सबै नदीनालालाई हामीले फोहोर विसर्जन गर्ने थलो बनाएका छौं । यो कुरामा हामी जागरुक हुन जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट नदी सफा राख्न प्रयत्न गरे नदी आफैं सफा हुन्छ ।’ उनले वाग्मती सफा गरी वाग्मतीको स्वच्छ जलमा आफ्नो अनुहार हेर्ने इच्छा व्यक्त गरे ।
उनले नदी प्रणालीसँग जोडिएका जग्गा अतिक्रमणमा परेकाले पनि नदी सहज प्रवाहमा नबगेको र ढल मिसाइएको बताए । कार्यक्रममा सहरी विकास मन्त्री इस्तियाक राई, खानेपानी मन्त्री विना मगर, वनमन्त्री शक्ति बस्नेत लगायतको सहभागिता थियो ।
कार्यक्रममा हनुमन्ते, नख्खु, बल्खु, रुद्रमती जस्ता वाग्मतीका विभिन्न सहायक नदी सफा गर्ने स्वयंसेवक समूह तथा संस्थाहरूको पनि सहभागिता थियो । रुद्रमती (धोबीखोला) सफाइ अभियानमा लागेका रोहित गिरीले उक्त खोला सफाइको २ सय ५५ हप्ता पुगेको जानकारी दिए । बुढानीलकण्ठदेखि नै १० क्षेत्रमा विभाजन गरी स्थानीयले नै उक्त खोला सफा गर्ने गरेका छन् ।


अन्य स्थानमा महिनामा एक पल्ट, कतै दुई हप्तामा एक पल्ट भए पनि रातो पुलमा हरेक हप्ता धोबीखोला सफाइ हुने गरेको छ । ‘हामी सडक र नदी दुवै सफा गर्दै आइरहेका छौं,’ रुद्रमती सफाइ अभियान मूल समन्वय समितिका सदस्य सचिव गिरीले भने, ‘समुदायकै व्यक्तिहरूको सहभागिता हुन्छ । टोलभित्रका विद्यालय र संस्थालेसहयोग गर्छन् ।’
साथै सरकारले नदी तथा अन्य सार्वजनिक क्षेत्रको सरसफाइ सम्बन्धी नमुना कार्यविधि २०७५ पनि सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले कार्यविधि विमोचन गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ७ अनुसार कार्यविधि ल्याइएको हो । उक्त ऐनमा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारअन्तगत नदी, वातावरण, सार्वजनिक स्थल, सम्पादा लगायतका आफ्नो क्षेत्रभित्रको सरसफाइको जिम्मेवारी पनि स्थानीय तहलाई दिइएको छ ।


सोही क्रममा उक्त अधिकार कार्यान्वयनका लागि नमुना कार्यविधि बनाइ विमोचन गरिएको हो । कार्यविधि माघ २० गतेको मन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । अब स्थानीय तह आफैंले सार्वजनिक सम्पदा र वातावरण सफा राख्न विभिन्न किसिमका अभियान सञ्चालन गर्न सक्नेछन् । २०७० जेठ ५ गतेदेखि बागमती सरसफाइ अभियान सुरु भएको थियो ।
 

दुई वर्षदेखि सडक सफा गर्दै मैतीदेवीवासी

मैतीदेवीका स्थानीय मिलेर सरसफाइ गर्न थालेको दुई वर्ष पुगेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० का बासिन्दाले वातावरणमैत्री समाज गठन गरी महानगरका विभिन्न स्थानमा सरसफाइ गर्ने गरेका छन् ।
समाजका अध्यक्ष राधेश्याम मिश्राले दुई वर्षदेखि हरेक शनिबार आफूहरूसहित मैतीदेवीका बासिन्दा विभिन्न स्थानमा गएर सडक सररफाइ गर्ने गरेको जानकारी दिए । ‘अहिलेसम्म ८ वटा वडामा पुगिसकेका छौं । प्राय: बिहान दुई घण्टा सरसफाइ गर्छौं,’ उनले भने, ‘सुरुमा मान्छे कम भए पनि अहिले ५० भन्दा बढी हुन्छौं । सबै प्राय: मैतीदेवीकै हुन्छौं ।’ सुरुमा सरसफाइका लागि सहयोग माग्न जाँदा मान्छे आनाकानी गर्ने भएकाले यही वर्ष असारमा संस्था दर्ता गरिएको हो ।
बीचबीचमा केही संस्थाले खाजा र सरसफाइ सामग्री दिएर सहयोग गर्ने भए पनि प्रायजसो आफ्नै खर्चमा जाने गरेका छन् । वडास्तरीय कार्यक्रममा १० हजार रुपैयाँभन्दा कम लाग्ने गरेको र हाल केही व्यवसायी, संस्थाबाट सहयोग पाइने उनले बताए । उनीहरूले सामाजिक सञ्जाल, पर्चाबाट सरसफाइ गर्न जाने स्थानबारे प्रचार गर्ने गरेका छन् । अहिले मैतीदेवीका केही विद्यालयले समेत विद्यार्थी पठाएर सरसफाइमा सहयोग गर्ने गरेको उनले जानकारी दिए ।
मैतीदेवी मन्दिरमा दुई वर्ष अघिसम्म देखेको फोहोरले आफूहरूलाई सरसफाइका लागि प्रेरित गरेको मिश्र बताउँछन् । मन्दिर वरपरबाट लगातार दुई हप्ताभन्दा बढी दिनहुँ सफा गरेर सरसफाइ अभियान सुरु गरेका उनीहरूले सुन्धारा, भण्डारखाल लगायतका स्थानमा सफाइ गरिसकेका छन् ।

समाजले मैतीदेवीमा ९ महिनाअघि २५ वटा फलामे फोहोर फाल्ने भाँडा र वृक्षरोपण पनि गरेका छन् । जम्मा भएको फोहोर निजी फोहोर संकलन गर्ने गाडीले लाने गरेको र बढी फोहोर भए महानगरलाई फोहोर उठाउन आग्रह गर्ने गरेको समाजका अध्यक्ष मिश्रले जानकारी दिए । ‘सफा गर्न रमाइलो लाग्छ । तर मान्छेले फोहोर नगरिदिए राम्रो हुन्थ्यो जस्तो पनि लाग्छ । कम्तीमा आफ्नो घर, पसल अगाडि त फोहोर नगरिदिनू,’ मिश्रले भने ।

 

 

वाग्मती सफाइ अभियानको ३ सयौं हप्ता पुगेको दिन शनिबार काठमाडौंको शंखमूलमा डुंगा सयर गरेर रमाइलो गरिँदै ।तस्बिर : सुरविन्द्रकुमार पुन/कान्तिपुर

© 2018 Copyright, Complete Corporate Solution Nepal Pvt. Ltd. All Rights Reserved